Ace Apartment, Naxal, Kathmandu +977 1 4444607

NICCI News and Events

Regional Energy Cooperation for Prosperity

https://www.nayapatrikadaily.com/news-details/106769/2023-02-06

नेपालले भारतमा बिजुली बेच्न थालिसकेको छ, सन् २०३० भित्र बंगलादेश, म्यानमार र श्रीलंकामा पनि बिजुली बेच्न सक्छ

विश्वव्यापीकरणको लहरसँगै संसारका मुलुकहरू एकअर्काेप्रति निर्भर हुँदै गएका छन् । यही निर्भरताले साझा समस्याको सूची पनि विस्तार हुँदै गइरहेको छ । विश्वव्यापी रुपमा देखिएको कोभिड–१९ महामारी इतिहासको एउटा त्यस्तो परिघटना हो, जसले कुनै एक मुलुकमा देखिएको एउटा समस्या कसरी विश्वव्यापी समस्या बन्न सक्छ भन्ने देखाएको छ ।

त्यस्तै, अहिलेको समयमा जलवायु परिवर्तन अर्काे उदाहरण हो । यो समस्याबाट विश्वका कुनै पनि मुलुक अछुतो छैन । 
विश्वका ठूला–साना सबै मुलुकले सामूहिक रूपमा काम नगर्ने हो भने यसले मानव अस्तित्व नै खतरामा पार्ने निश्चितप्रायः छ । यससँगै जोडिएको अर्काे विषय हो, ऊर्जामा बढ्दो निर्भरता । यतिवेला युरोपमा देखिएको ऊर्जा समस्याले विश्वमा एकअर्का राष्ट्रहरूबीचको निर्भरताबारे धेरै कुरा बोलिरहेको छ । आर्थिक संकट अर्काे विषय हो, जसले संसारका सबै मुलुकलाई असर गरिरहेको छ । त्यसैले यी समस्या समाधान गर्नका लागि सबै मुलुकको बीचमा सहकार्य र समर्थनको आवश्यकता पर्दछ । धेरै विषयले सीमापारिसमेत असर गरिरहेको हुन्छ ।

अब दक्षिण एसियाको विषयबारे बोलौं । दक्षिण एसिया क्षेत्रका मुलुकहरू एकअर्काप्रति अझ निर्भर छन् । यसको कारण हो, खुला सीमा, साझा संस्कृति र सभ्यता । तर, दक्षिण एसिया त्यति एकीकृत हुन सकेको छैन । यहाँ के छैन ? गरिबी छ । आर्थिक विकास हुन सकेको छैन । र, जलवायुलगायत अन्य समस्या पनि लगभग उस्तै छन् । साझा पहलबाट समाधान गर्नुपर्ने थुप्रै विषय छन् । तर, साझा पहलले त्यति मूर्त रूपमा लिन सकिरहेको छैन । 

यस क्षेत्रमा क्षेत्रीय सहकार्य र पहलको आवश्यकता सन् १९८० देखि नै महसुस भएको हो । त्यतिवेला नै सार्कको स्थापनासमेत भयो । तर, विभिन्न कारणले गर्दा सार्कले त्यति गति लिन सकेको छैन । यो निष्क्रियजस्तै अवस्थामा छ । अन्य क्षेत्रीय पहल पनि भएका छन्, जसले केही नतिजा दिएका छन् । ती प्रभावकारीचाहिँ छैनन् । तर क्षेत्रीय सहकार्यबाट भाग्ने छुट हामीलाई छैन ।

भारतले सन् २०३० भित्र ५०० गिगावाट स्वच्छ ऊर्जा उत्पादन गर्ने महत्वाकांक्षी योजना अगाडि सारेको छ । बंगलादेशले सन् २०५० भित्र आफ्नो इनर्जी मिक्सको ४० प्रतिशत नवीकरणीय ऊर्जा पुर्‍याउने लक्ष्य लिएको छ । 

बंगलादेश, भारत र नेपालको सहकार्य, जसलाई बिआइएन भनिन्छ, यसको सम्भावना एकदमै धेरै छ । यसमा पछिल्लो समय केही प्रगति पनि भएको छ । तर, गर्न बाँकी अझै धेरै छन् । त्यसैगरी, बिमस्टेकका गतिविधि पनि अगाडि बढिरहेका छन् । यसको गतिलाई अझै बढाउनुपर्ने आवश्यकता छ । 

पछिल्लो समय बिमस्टेकलाई अगाडि बढाउन भारतले भूमिका खेलिरहेको छ, यसलाई अवसरको रूपमा लिएर अगाडि बढ्नुको विकल्प हामीसँग छैन । अन्य विभिन्न समस्यासँगै दक्षिण एसियाले पछिल्लो समय ऊर्जाको समस्या भोगिरहेको छ । भुटानले केही प्रगति गरेको छ, अन्य देशमा भने ऊर्जाको समस्या रहेको छ । तर, अर्काे यथार्थ के हो भने ऊर्जाको प्रचुर समस्या रहेको क्षेत्र पनि यही हो । 

यसका लागि उत्पादन, प्रसारण र खपतको राम्रो पूर्वाधार बनाउन आवश्यक छ ।  जलवायु परिवर्तनको असर कम गर्न अहिले प्रायः सबै देशमा नवीकरणीय ऊर्जाको माग निकै बढ्दो छ । दक्षिण एसिया, त्यसमा पनि नेपाल र भुटानमा जलविद्युत् र नवीकरणीय ऊर्जा उत्पादनको एकदमै ठूलो सम्भावना छ । 

जलवायु परिवर्तनको असर कम गर्न नवीकरणीय ऊर्जाको माग बढ्दो छ । दक्षिण एसिया, त्यसमा पनि नेपाल र भुटानमा जलविद्युत् तथा नवीकरणीय ऊर्जा उत्पादनको ठूलो सम्भावना छ । 

ऊर्जा संकटबाट पार पाउन हामीसँग अन्य कुनै पनि विकल्प छैन । पहिलो त हामीले जलविद्युत्मा लगानी आकर्षित गर्नैपर्छ र लगानी ल्याउनुपर्छ । त्यसपछि नेपालको बिजुली भारत, बंगलादेश र सम्भव भएमा अन्य मुलुकमा बेच्नका लागि आवश्यक पूर्वाधारहरूको निर्माण गर्न आवश्यक छ । नेपाल र बंगलादेशको बीचमा ऊर्जा व्यापारको सम्बन्धमा धेरै प्रगति भइरहेको छ । यसको सहजीकरणका लागि नेपाल र बंगलादेशले भारतलाई आग्रह पनि गरिसकेका छन् । 

भारत र बंगलादेशको बीचमा रहेको प्रसारण (ट्रान्समिसन) लाइन प्रयोग गरेर यो व्यापारलाई अगाडि बढाउन सकिन्छ र यसमा भारतले पनि सहयोग गर्नुपर्छ । दुईपक्षीय तहमा ऊर्जा व्यापार यसअगाडि नै भइसकेको छ । नेपालले भारतमा बिजुली बेच्न थालिसकेको छ ।

यस्तै बंगलादेश, म्यानमार र श्रीलंकामा पनि सन् २०३० भित्र बिजुली बेच्न सक्छ । माथि उल्लेख भएअनुसार भारतलगायत यस क्षेत्रका सबै मुलुकलाई स्वच्छ ऊर्जाको आवश्यकता रहेको छ । भारतले सन् २०३० भित्र ५०० गिगावाट स्वच्छ ऊर्जा उत्पादन गर्ने महत्वाकांक्षी योजना अगाडि सारेको छ । बंगलादेशले सन् २०५० भित्र आफ्नो इनर्जी मिक्सको ४० प्रतिशत नवीकरणीय ऊर्जा पुर्‍याउने लक्ष्य लिएको छ । उनीहरूको सपनामा नेपालले ठूलो योगदान गर्न सक्छ । यसका लागि भारतको महत्वपूर्ण भूमिका हुन्छ । 

विश्व मानचित्रमा एउटा शक्तिराष्ट्रको रूपमा उदाइरहेको भारतले छिमेकमा रहेका साना मुलुकका आकांक्षालाई पूरा गर्नुपर्छ । केही हप्ताअगाडि मात्र भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको विकास प्रक्रिया छिमेकी मुलुकहरूको विकास प्रक्रियासँग जोडिएको अभिव्यक्ति दिएका थिए । वास्तवमा यो सही हो कि भारतले आफ्नो मात्र होइन, क्षेत्रीय विकासको सहकार्य र धारणालाई अगाडि बढाउनुपर्छ । यसबाट भारतको आर्थिक र कूटनीतिक दुवै हिसाबले हार होइन, ठूलो जित नै हुनेछ । 

अन्य उत्पादनभन्दा ऊर्जाको व्यापार सहज छ । किनकि यसका लागि मापदण्डको एकरूपतालगायत अन्य प्राविधिक समस्या आउँदैनन् । त्यसैले यसमा बढी लगानी ल्याउन सकिन्छ । त्यसैले समय आएको छ, भारतले यसमा नेतृत्व लिनुपर्छ । उसले छिमेकका गुनासा र समस्याहरू सुनेर बस्ने होइन कि, यसलाई व्यवहारमा रूपान्तरण गर्न काम गर्नुपर्छ । 

भारतका कतिपय निर्देशिका र नीतिले छिमेकमा आशंका जन्माउने गरेको छ, जसलाई तत्कालै संशोधन गर्न आवश्यक छ । भूराजनीतिमा आएको तीव्र बदलावले पनि भारतलाई अब छिटो नेतृत्व लिन दबाब दिइरहेको छ । अब ऊ पुरानो सोचाइ र मानसिकतामा अडिरहन हुँदैन । 

त्यसैगरी, नेपाल सरकारको भूमिका पनि त्यतिकै महत्वपूर्ण छ । नेपाल सरकारले यस क्षेत्रका सबै मुलुकसँग स्पष्ट भिजनका साथ संवाद र सहकार्य गर्न पनि अति आवश्यक छ भने हामीले क्षेत्रीय रूपमा उपलब्ध रहेका विभिन्न फोरमलाई पुनस्र्थापना गर्न र त्यसलाई क्रियाशील बनाउने मार्गमा पनि ध्यान दिन आवश्यक छ ।